वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकामा चितुवाको आक्रमणबाट बुधबार बिहान एक प्रहरीसहित तीन जना घाइते भएका छन् ।
नजिकको जंगलबाट गाउँमा आएको चितुवाको आक्रमणबाट पोखरिया नगरपालिका- ४ सतवरिया टोलका ३० वर्षका दिल महमद मियाँ, जोगिन्द्र साह तेली र ईलाका प्रहरी पोखरीयाका प्रहरी जवान सुचिन्द्र प्रसाद यादव घाइते भएको स्थानीय इप्रका पोखरीयाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीले जानकारी दिए।
घाइते मध्ये मियाँको अवस्था गम्भीर भएकोले उनलाई पोखरिया अस्पतालको उपचार पछि थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको छ ।
तेली र प्रहरी जवान यादवको पोखरिया अस्पतालमै उपचार भइरहेको उनले बताए। बिहान जंगलबाट सतवरिया टोलमा पसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
चितुवा अहिलेसम्म पनि नियन्त्रणमा आएको छैन। सतवरिया टोलकै एक गोठ घरमा चितुवा लुकेर बसेको छ। चितुवालाई नियन्त्रणमा लिन अहिले वनको टोली घटनास्थलमा पुगेको छ।