वीरगंज । नेकपा एमाले बिभाजनको प्रभाव प्रदेश २ मा नपर्ने पुर्वमन्त्री एवं प्रदेश २ का इन्चार्ज रघुबिर महासेठले दावी गर्नुभएको छ । प्रदेश २ को प्रदेश कमिटी बैठक पश्चात आयोजित पत्रकार सम्मेलनमा नेता महासेठले सो दावी गर्नुभएको हो । उहाँले माधव कमरेडको पार्टीका लागेको नेताहरुको फर्किने क्रम जारी रहेको जानकरी समेत दिनुभयो । उहाँले दल दर्ता नै कानुन बिपरित भएको र कतिपय नेताको हस्ताक्षर नक्कली गरिएकाले दल दर्ता खारेज हुनुपर्नेमा जोड दिनुभएको थियो । नेता महासेठले अब एमाले झन निखारिएर आउने र निर्वाचनमा बहुमत प्राप्त गर्ने ठोकुवा गर्नुभयो । एमाले अहिले सम्पुर्ण शक्ति संगठन निर्माण, संगठन सुदृढिकरणमा खर्चेको बताउदै आउने चुनावमा पुनः एमाले बहुमतका साथ सरकार बनाउने दावी गर्नुभयो । पत्रकार सम्मेलनमा प्रदेश २ का अध्यक्ष रघुबिर महासेठ,नेताहरु सुमन प्याकुरेल,लिलानाथ श्रेष्ठ, राजकुमार गुप्ता, प्रभु हजरा, बसरुदिन अंसारी लगायतको उपस्थिती रहेको थियो । प्रेस चौतारी नेपालका सहसंयोजक तुलसी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण चौतारीका सदस्य तिवारी यादवले गरेका थिए ।