वीरगञ्ज । पर्सा जिल्लामा एमाले विभाजनको असर न्यून परेको छ । विभाजनको मापन गर्ने सूचक जनप्रतिनिधीहरुको संख्यालाई आधार मान्दा उक्त कुराको पुष्टि भएको हो । स्थानीय तहको निर्वाचन र विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका गरी १४७ जना जनप्रतिनिधीमा जम्मा ५ जनाले मात्र जिल्ला निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेको एमाले पर्साका अध्यक्ष प्रभु हजरा बताउँछन् ।
गत निर्वाचनमा एमालेबाट विभिन्न तहमा १ सय १० जना जनप्रतिनिधी निर्वाचित भएका थिए भने माओवादीबाट जितेका २३ जना र मधेशवादी दलबाट जितेका १४ जना एमालेमा प्रवेश गरेका थिए । जिल्लाका प्रभावशाली एवं जनाधारयुक्त नेताहरुले एमाले मै बस्ने निधो गरेपछि पर्सामा विभाजनको प्रभाव न्यून भएको हो । महानगरपालिकामा एमालेले जितेको ५ वटा वडाहरुमा ५ जनाले नेकपा समाजवादीमा सनाखत नगरेपछि महानगरमा समेत सो पार्टीको अवस्था प्रभावहिन बनेको हो ।
अब संगठनलाई चुस्तदुरुस्त बनाउँदै पार्टीलाई थप गतिशिल बनाउने कुरा एमाले नेता एवं संविधान सभाका सदस्य राजकुमार गुप्ता बताउनु हुन्छ । ठाउँ–ठाउँमा भएका भेला र कमिटी निर्माणले अब पार्टीमा नयाँ उर्जा आएको जिकिर समेत उहाँको रहेको छ । त्यसैगरी नेताहरु प्रद्युम्न चौहान, जयप्रकाश थारु, बसरुद्धिन अन्सारी, मनोज गुप्ता लगायतले जिल्लाभरी संगठनको कामलाई अब पहिलो प्राथमिकतामा राखेर पर्सामा पहिलो पार्टी बनाउने गरी लागेको बताउँछन् ।