वीरगन्ज १९ कार्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । बुधबार चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताउनुभएको हो । पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पार्नुभएको हो । प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि नागरिकको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताउनुभयो । कुनै पनि जाल, झेल तथा तिकडमबाट नभइ व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने द्विविधामा नपर्नसमेत आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले एक थरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागि रहेको समेत बताउनुभयो ।