वीरगञ्ज । चाडपर्व बिदा सकिएर विद्यालय खुल्ने बेलामा पर्साको पकाहामैनपुर गाउँपालिकाको सामुदायिक विद्यालयका शिक्षकहरू भ्रमणमा निस्किएका छन् । विद्यालय बन्द गरेर शिक्षकहरू भ्रमण गर्न गएको एक अभभिावकले नाम नबताउने शर्तमा बताए । स्रोतका अनुसार शुक्रबारदेखि मंगलबारसम्म पाँच दिनका लागि शिक्षकहरू भ्रमणमा निस्किएका हुन् । काठमाण्डौ, पोखरा, लुम्बिनी लायतका स्थानमा भ्रमण गर्ने योजनाअनुरुप निस्किएका शिक्षकहरुलाई गाउँपालिका कार्यालयले ५ लाख रकम आर्थीक सहयोग गरेको बुझिएको छ । पालिकाभित्रका करिब ८८ जना भ्रमणमा निस्कने योजना रहे पनि ६७ जना मात्र शिक्षकलगायतका कर्मचारीहरू भ्रमणमा गएका छन् ।
गाउँपालिका अध्यक्ष विजय चौरसियाले विगत लामो समयदेखि शिक्षकहरूका लागि पालिकाबाट छुट्याइएको बजेटलाई सदुपयोग गरेको बताउँदै नमुना विद्यालयको भ्रमण गर्ने उद्देश्यले शिक्षकहरू शैक्षिक भ्रमणमा गएको प्रतिक्रिया दिए ।
तर यता अभिभावकले भने कोरोना भाइरसको महामारीका कारण ढिला शुरु भएको शैक्षिक सत्रमा छिटो विद्यालय खोलेर पाठ्यक्रम सक्नुपर्नेमा भ्रमण गर्नु अनुचित भएको बताएका छन् ।यद्यपी शिक्षकहरुलाई भ्रमण गर्ने भनेर गाउँपालिकाले बजेट बिनियोजन गरेको भएपनि भ्रमण गर्ने उचित समय भने अहिले नभएको कतिपयको टिप्पणी छ । लामो समयदेखि निषेधाज्ञाका कारण बन्द रहेका विद्यालयहरु ढिला गरी पठनपाठन शुरु भएपनि पुनः दसै, तिहार र छठको विदा थियो । विदा सकिएपछि यथाशिघ्र विद्यालय सञ्चालन गरेर पाठ्यक्रम सक्नुपर्नेमा भ्रमणतर्फ जानुले विद्यार्थीहरुको पठनपाठनमा समेत असर पर्ने अभिभावकहरुको प्रतिक्रिया छ ।