पर्सा । जिल्लाको जगरनाथपुरमा पुस ८ गते बिहीबार हुने नेकपा एमालेको सन्देश सभा एवम् वृहत् पार्टी प्रवेश कार्यक्रमको तयारी पूरा भएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली सो सभामा सम्बोधन गर्न आउने कार्यक्रम रहेको एमाले पर्साका अध्यक्ष प्रभु हजराले जानकारी दिए । सो सभामा १ लाख भन्दाबढिको जनसभागिता हुने एमाले केन्द्रीय सदस्य एवम् पर्साका सह–इन्जार्ज राजकुमार गुप्ता बताए । कार्यक्रममा स्वतःस्फुर्त बारा, रौतहटबाट पनि हजारौको संख्यामा कार्यकर्ता र जनसमुदाय आउने जानकारी पाएको र सोही अनुसार व्यवस्थापन गरी रहेको गुप्ता बताए ।
कार्यक्रमको लागि ३ स्टेपको मञ्च बनाउने काम भईरहेको मञ्च व्यवस्थापन समितिले जनाएको छ । पहिलो स्टेप सबभन्दा माथि अध्यक्ष केपी ओली, केन्द्रीय सचिव एवम् प्रदेश २ इन्जार्ज रघुवीर महासेठ लगायत केन्द्रीय नेतागण, दोश्रो स्टेपमा प्रदेश समिति, संबिधान सभा सदस्य र पूर्व सांसद तथा निर्वाचित पालिका प्रमुख उप प्रमुख रहनेछन् ।
तेश्रो स्टेपमा कलाकारहरु रहने छन् । पत्रकारहरु को लागि छुट्टै बस्ने व्यवस्था मिलाएको सचिव मनोज गुप्ताले बताए । करीब ५ किलो मिटरसम्म आवाज पुग्ने गरी माइकको व्यवस्था गरिएको बताइएको छ । सभाको लागि २ सय जना स्वंयमसेवक परिचालन गरिन स्वयमसेवक समितिका संयोजक मनोज गुप्ताले बताए । उनका अनुसार कार्यक्रममा युवा संघ, विद्यार्थी र खेलकुद महासंघबाट स्वयमसेवक परिचालन गरीने छन् ।
गाँउपालिका भवनको उदघाटन समेत गर्ने कार्यक्रम रहेकोले अध्यक्ष ओली ८ गते बिहान ११ः३० बजे हेलीकप्टरबाट जगरनाथपुरको हेली प्याडमा ल्याण्ड गर्ने बताइएको छ । उद्घाटन पछि सिधै बृहत् सभामा पुग्नु हुने र जगरनाथपुर गाँउ पालिका का अध्यक्ष जालिम मियाँ, नेता समिम मियाँ लगायतलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको केन्द्रीय सदस्य निर्मला देवकोटाले जानकारी दिइन । दशौं महाधिवेशन पछि प्रदेश न २ को पर्सा को ग्रामीण भेगमा अध्यक्ष केपी ओलीको आगमन राजनैतिक र रणनैतिक दृष्टिले अति महत्वपूर्ण हुने राजनीतिज्ञ विश्लेषकहरु को भनाइ छ ।