वीरगञ्ज । फागुन २१ गते सम्पन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस पर्साले आजदेखि ‘जरा अभियान’ कार्यक्रम शुभारम्भ गरेको छ। पछिल्लो निर्वाचनमा जिल्लाका चारवटै संसदीय क्षेत्र गुमाएपछि पार्टीले संगठन सुदृढीकरणका लागि उक्त अभियान सुरु गरेको हो।
नेपाली कांग्रेस पर्साका सचिव तथा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमका अनुसार आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी प्रत्येक गाउँपालिका, नगरपालिका तथा महानगरपालिकाका वडाहरूमा यो अभियान सञ्चालन गरिनेछ।
कार्यक्रममा नेताहरूले विगतका निर्वाचनमा भएका कमजोरीहरूलाई जरोदेखि सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए। “हामी कहाँ चुकेका छौं र कहाँ कमजोर भएका छौं भन्ने कुरालाई आत्मसात गर्दै अब सशक्त रूपमा अघि बढ्नुपर्छ,” वक्ताहरूले बताएका थिए।
उक्त कार्यक्रममा जिल्ला सभापति तथा पूर्व मन्त्री जनार्दन सिंह क्षेत्री, पूर्व मन्त्री रमेश रिजाल, पूर्व मन्त्री सुरेन्द्र चौधरी, पूर्व मन्त्री अजय चौरसिया लगायत नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।