वीरगंज,मंसिर ८
पर्सा प्रहरीले बिन्दवासीनी गाउँपालिकाको वडा नं ५ प्रसौनी बाट शवदिन राउत गद्धीलाई गिरफ्तार गरेको छ । कार्तिक ६ गते सोही ठाउमा भएको नेकपाको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परि मृत्यु भएका नेकपाका नेता मुकेश चौरसियाको हत्या प्रकरणसंग जोडिएर उनको गिरफ्तारी भएको प्रहरी स्रोतको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरियाको संयुक्त टोलीले उनलाई घरबाटै गिरफ्तार गरेको हो । गुडिया देवीले दिएको किटानी जाहेरीमा शवदिन राउत गद्धीको नाम उल्लेख छ । राउत चौरसिया हत्या प्रकरणका एक जना प्रतिवादी हुन पर्सा प्रहरीका प्रवक्ता मनोजीत कंवरले भन्नु भयो “त्यही केशमा अनुसन्धान प्रयोजनाकालागि राउतलाई गिरफ्तार गरिएको हो ” ।
गुडिया देवीले दिएको किटानी जाहेरी दर्ता भएर पक्राउ पूर्जी जारी भएपछि प्रहरीले गिरफ्तारी शुरु गरेको स्रोतको दावी छ । नेकपा विन्दवासिनी गाउँपालिका कमिटिका सचिव मुकेश चौरसियाको हत्यामा संलग्न रहेको आरोपमा नेकपाका केन्द्रीय नेता नागेन्द्र चौधरी रामचन्द्र साह सहित १५ जना बिरुद्ध अनुसन्धान गर्न पर्सा प्रहरीले निर्देशन पाएको थियो।
प्रहरीले त्यही मुद्धा दर्ता गरेपछि पक्राउ पूर्जी जारी भएको हो ।१५ जना प्रतिवादी बिरुद्ध पक्राउ पूर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजीत कुंवरले पुष्टि गर्नु भयो । नेकपाको केन्द्रीय कमिटीका सदस्य एवं प्रदेश २ का सह इन्चार्ज नागेन्द्र चौधरी , पार्टीका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह , पार्टीको प्रदेश कमिटीका सदस्य छोटेलाल यादव, पार्टीको जिल्ला कमिटीका सदस्य बिक्रम चौरसिया सहितका नेताहरुका बिरुद्ध पक्राउपूर्जी जारी भएको हो । स्रोतका अनुसार पाँच दिन पहिला नै पक्राउ पूर्जी जारी भएको थियो । त्यसैगरि बिन्दवासीनी गाउँपालिकाका परशुराम यादव, चंचल यादव,होदा राउत गदी,महादेव चौहान,कलसरीफ राउत गदी,सभासद राउत गदी,सवादिन राउत गदी ,रुषत्तम राउत गदी,मोहन यादव,जितेन्द्र चौरसिया र समन साह बानिया बिरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।
यसैवीच हिजो गिरफतार गरिएका अखिलेश चौरसियालाई अनुसन्धानकोलागि न्यायीक हिरासतमा राख्न प्रहरीले पर्सा जिल्ला अदालत मार्फत म्याद लिएको छ । अव चौरसिया हत्या प्रकरण न्यायीक फैसलाकालागि अदालती प्रक्रियामा प्रवेशको नजिक पुगेको छ ।


यस अघि प्रहरीले चौरसियाको हत्या आरोपमा घाइते रहेका उत्तम तिवारीलाई भने गिरफ्तार गरेको छ । ईसिमाना