वीरगञ्ज । गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तहका ९ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रालयको २०८३ मङ्सिर ११ गतेको निर्णयअनुसार पर्सासहित ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर भएका छन्।
मन्त्रालयको निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ। उनको स्थानमा गृह मन्त्रालयमा कार्यरत सहसचिव एकदेव अधिकारीलाई पर्साको नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
यसैगरी, गृह मन्त्रालय वा अन्तर्गत कार्यरत अन्य पाँच जना सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ। जसअनुसार गीता कुमारी होमेगाईलाई रामेछाप, वीरेन्द्रकुमार मिश्रलाई दैलेख, विमलप्रसाद बराललाई महोत्तरी, शिवप्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
मन्त्रालयको यस निर्णयसँगै पर्सामा नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा एकदेव अधिकारी आउने भएका छन्।