वीरगन्ज । कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०८३ अन्तर्गत पुरुष शारीरिक सुगठन (बडीबिल्डिङ) को ७५ केजी तौल समूहमा वीरगन्जका साहेब गिरीले कांस्य पदक जितेका छन्। मधेश प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागी गिरीले कांस्य पदक हासिल गरेपछि वीरगन्जसहित मधेश प्रदेशको खेलकुद क्षेत्र गौरवान्वित भएको छ।
वीरगन्ज निवासी गिरी लिंकरोडस्थित मसल बैंक जिम क्लबका प्रशिक्षक हुन्। विशेष कुरा के छ भने, उनी अरूलाई प्रशिक्षण दिनुका साथै आफैँ पनि सोही क्लबमा नियमित अभ्यास गर्दै आएका छन्। प्रशिक्षणको जिम्मेवारीसँगै आफ्नै शारीरिक अभ्यास, अनुशासन र सन्तुलित आहारमा ध्यान दिँदै उनले राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सफलता हासिल गरेका हुन्।
कर्णाली प्रदेशको वीरेन्द्रनगर, सुर्खेतलाई मुख्य आयोजनास्थल बनाएर सञ्चालन भइरहेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीका खेलाडी सहभागी छन्। प्रतियोगितामा ३२ खेलका ३८४ विधामा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा भइरहेको छ।
शारीरिक सुगठनजस्तो अनुशासन, धैर्य, नियमित अभ्यास र कठोर मेहनत आवश्यक पर्ने खेलमा ७५ केजी तौल समूहबाट गिरीले हासिल गरेको कांस्य पदकलाई उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ। उनको सफलताले वीरगन्ज तथा मधेश प्रदेशका युवा खेलाडीलाई खेलकुद क्षेत्रमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
गिरीको पदक जित्ने उपलब्धिपछि लिंकरोडस्थित मसल बैंक जिम क्लबका प्रशिक्षक, प्रशिक्षार्थी तथा खेलप्रेमीहरूमा उत्साह र खुसी छाएको छ।