काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक शक्ति संघर्ष चर्किएको चर्चाकै बीच सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहबीच हिजो पुनः बूढानीलकण्ठमा पाँच घण्टा लामो गोप्य भेटवार्ता भएको छ । विगतमा पनि असमझदारी बढ्दै जान थालेपछि सभापतिलाई भेटेर छलफल गर्ने गरेका प्रधानमन्त्री साह भेटवार्ताका लागि लामिछाने निवास पुगेका थिए ।
भेटमा प्रधानमन्त्री साहको भारत भ्रमण, सरकारका काम कारबाही,मन्त्रीहरूको कार्यसम्पादन,पार्टी राजनीति र आगामी निर्वाचनबारे छलफल भएको जनाइएको छ । बताइएअनुसार प्रधानमन्त्री साहले आफ्नो भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिहरूबारे सभापति लामिछानेलाई विस्तृत जानकारी गराएका थिए ।
विदेश भ्रमणमा जानुअघि र फर्किएर आएपछि राष्ट्रपतिलाई औपचारिक जानकारी गराउने संवैधानिक जिम्मेवारी र स्थापित परम्परा तोडेका प्रधानमन्त्री साह सभापतिलाई भ्रमणबारे जानकारी गराउनकै लागि आफैँ बुढानीलकण्ठ पुगेको दाबी गरिए पनि सरकारका काम कारबाहीमाथि छलफल केन्द्रित रहेको जनाइएको छ । लामिछाने निकट एक स्रोतले पनि दुई नेताबीच सरकार सन्चालनका विषयमा मतभेद देखिएको खुलायो ।
स्रोतका अनुसार भेटमा सभापति लामिछानेले सरकारका कतिपय कदमप्रति गम्भीर असहमति व्यक्त गरेका थिए । खासगरी आशंकाकै आधारमा विभिन्न व्यक्तिमाथिको धरपकड र गिरफ्तारीका घटनाप्रति उनले प्रधानमन्त्री साहसँग गम्भीर असन्तुष्टि जनाएका थिए ।
लामिछानेले आफैँ गृहमन्त्री हुँदा गृह सचिव बनाइएका पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ प्रकरणमा विशेष चासो र असन्तुष्टि राखेको स्रोतको दाबी छ । स्रोतको भनाइमा केही समयअघि लामिछानेसहित सभामुख डीपी अर्याल र परराष्ट्रमन्त्री शिशिर खनालले आगामी दुई महिनापछि रिक्त हुन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा अर्याललाई लैजानेबारे संकेत गरेका थिए । त्यसलाई रोक्नकै लागि प्रधानमन्त्रीको टिमले पुरानो विषय उछालेर अर्याललाई पक्राउ गराएको पनि बताइन्छ ।
आइजिपी डा.मनोज केसीले मुख्यसचिव हुँदा दानबहादुरलाई च्यापेको असन्तुष्टि अर्यालसँग पोखेको प्रहरी वृत्तमा चलिरहेको चर्चालाई स्रोतको यो भनाइले बल पुर्याएको छ । यद्यपि,सभापति लामिछाने र प्रधानमन्त्री साहबीच भएका भनिएका यी मतभेदका विषयहरू बाहिर ल्याइएको छैन ।