वीरगञ्ज । बीपीएस प्लस टु कलेजले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागतमा आयोजना गरेको ‘फ्रेसर्स फिएस्टा’ कार्यक्रम शनिबार सम्पन्न भएको छ।
वीरगञ्जस्थित होटल भिस्वामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै एसपी भट्टराईले विद्यार्थी जीवनमा अनुशासन, नैतिकता र असल आचरणको महत्त्व रहेको बताए। उनले विद्यार्थीहरूलाई ठूलो लक्ष्य निर्धारण गरी सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे। जीवनमा सफल हुन अनुशासनको पालना अपरिहार्य रहेको उनको भनाइ थियो।
‘जीवनमा ठूलो व्यक्ति होइन, असल व्यक्ति बन्नुहोस्’ भन्ने सन्देश दिँदै उनले विद्यार्थीलाई गलत गतिविधि तथा कुसङ्गतबाट टाढा रहन आग्रह गरे। विद्यार्थी जीवन भविष्य निर्माणको महत्त्वपूर्ण समय भएकाले असल साथीको सङ्गत गर्न र आफ्नो लक्ष्यप्रति केन्द्रित हुनुपर्ने उनले बताए।
त्यसैगरी, उनले आमाबुबा जीवनका पहिलो गुरु भएको उल्लेख गर्दै उनीहरूको योगदान र त्यागलाई सम्मान गर्न विद्यार्थीलाई आग्रह गरे। सुख–दुःखमा सधैँ साथ दिने अभिभावकप्रति आदर र सम्मान कायम राख्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रमको सभापतित्व कलेजका एकेडेमिक डाइरेक्टर दीपककुमार पटेलले गरेका थिए। कार्यक्रममा कलेजका एचआर डाइरेक्टर सन्दीप कुशवाहा, बोर्ड अफ डाइरेक्टरद्वय सुरेश कुशवाहा र राजेन्द्र चौधरी, प्रिन्सिपल प्रभात मेहता तथा वीरगञ्ज मानवसेवाका दिवेश गुप्ता विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
त्यसैगरी, शिक्षक अनिल बर्नमाल, हरेन्द्र कुशवाहालगायत शिक्षक–शिक्षिका, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कक्षा १२ का विद्यार्थीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा आपसी परिचय, मित्रता र आत्मीयता अभिवृद्धि गर्दै नयाँ शैक्षिक यात्रालाई उत्साहपूर्ण बनाउने सन्देश दिइएको थियो।