काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले काम गर्न नसकेको दाबी गरेका छन्। भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा ओलीले वर्तमान सरकारले काम नगरेको भन्दै देश चरम आर्थिक संकटमा परेको बताएका हुन्।
‘वर्तमान सरकार चलिरहेको छैन। सरकार ज्यूदैं छ तर, काम गरिरहेको छैन। गठबन्धनले हाम्राविरुद्ध कुप्रचार गरिरह्यो।’ उनले भने, ‘अहिले उसलाई कुप्रचार गर्ने पनि फुर्सद छैन। आफ्नै आन्तरिक किचलोमा रुमलिएको छ।’
ओलीले अहिलेको सत्तागठबन्धनमा आबद्ध पाँच दललाई ‘गिद्ध’को संज्ञा दिए। ओलीले अहिलेको सत्तारुढ गठबन्धनको आयु बढीमा एक वर्ष रहेको दाबी गरे। उनले भने, ‘यो स्वार्थी गठबन्धनलाई पानीमुनिबाट निकालेर भए पनि ठेगान लगाइन्छ। चुनाव आउनुपर्छ, बढीमा एक वर्ष हो यिनीहरुको आयु। ’
अख्तियारमा उजुरी परेकोप्रति आक्रोस पोख्दै ओलीले भने,‘कुख्यात भ्रष्टाचारीको सरकार छ, तिनका मान्छेहरू मेराविरुद्ध उजुरी लिएर अख्तियार पुगेका छन्।’
ओलीले एमालेको सरकार बनेपछि फेरि देशमा समृद्धिको लहर आउने स्पष्ट पारे।