वीरगञ्ज, २४ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी र हिंसात्मक गतिविधि गर्ने विरुद्ध एकजुट हुन संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग आग्रह गर्नुभएको छ । हिजो बसेको सर्वदलीय बैठकमा उहाँले राजतन्त्रको पक्षमा भएका आन्दोलनबारे गम्भीर बन्दै जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न एक जुट हुन आग्रह गर्नुभएको हो । सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा देशका विभिन्न ठाउँमा भएका प्रदर्शन तथा कोरोना सङ्क्रमण नियन्त्रणबारे छलफल भएको थियो ।
दलहरूभित्रको किचलोलाई कारण देखाएर परिवर्तन विरोधीहरू सलबलाउन थालेको भन्दै प्रधामन्त्री ओलीले यसका विरुद्ध एक हुनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री ओलीको आह्वानमा हिजो प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै तीनघण्टा छलफल चलेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने, सरकारका गतिविधि र बढ्दो भ्रष्टाचारका कारण नागरिकमा निराशा छाएको कारण राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो ।
यसैविच प्रधानमन्त्री ओलीले अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रक्रियालाई ताजा गति दिनको लागि शिखर सम्मेलन शीघ्र गर्नुपर्नेमा जोड दिएका छन् । ३६औं सार्क चार्टर डे को उपलक्ष्यमा हिजो शुभकामना दिदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।