वीरगंज । वीरगञ्ज महानगरका मेयर विजय सरावगी एमाले प्रवेश गरेको केही दिनपछि थप दुई वडाका वडाध्यक्षसहित दजनौं जनप्रतिनिधि एवं नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।वीरगंज वडा नम्बर २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी र वडा नम्बर २५ का वडाध्यक्ष विश्वराजप्रसाद कुर्मीसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।एमाले प्रवेश गर्नेहरुमा जसपा प्रदेश सदस्य अजय साह, पर्साका जिल्ला समन्वय समितिका सदस्य अमोद यादवसँगै विभिन्न वडाका वडा सदस्यहरु रहेको एमाले पर्साले जनाएको छ ।उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । ओलीनिवास बालकोटमा एक कार्यक्रमबीच उनीहरु एमाले प्रवेश गरेका हुन् ।सो अवसरमा नेकपाका केन्द्रिय सदस्य एवं पर्सा ईन्र्चाज प्रभु हजरा, केन्द्रिय सदस्यहरु निर्मला देवकोटा, राजकुमार गुप्ता, संबिधान सभा सदस्य बिचारी यादव,नेताहरु बसरुदिन अंसारी, शम्भु गुप्ता, मनोज गुप्ता,जालिम मियाँ ,युवा नेता रामकिसोर सिंह पराग,चन्दन मिश्रा लगायतको उपस्थिती रहेको थियो ।