वीरगंज । जनता समाजवादी पार्टीबाट निर्वाचित भएका पर्साका दुई पालिकाका उपाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन्। मंगलबार वीरगंजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी थरुनी र धोविनी गाउँपालिकाका उपाध्यक्ष पारस कुर्मी एमालेमा प्रवेश गरेका हुन्।
दुबै जनालाई एमालेका अध्यक्ष केपी ओलीले माला लगाएर पार्टीमा स्वागत गरेका थिए। थरुनी र कुर्मी ०७४ सालको स्थानीय तहको निर्वाचनमा साबिकको संघीय समाजवादी फोरम नेपाल (हालको जनता समाजवादी पार्टी)बाट निर्वाचित भएका थिए।
सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष थरुनीलाई केही दिन पहिले मात्रै जसपा पर्साले कारबाही गर्दै पार्टीबाट निकालेको थियो। स्थानीय तहको निर्वाचन नजिकिएसँगै पर्सामा निर्वाचित जनप्रतिनिधिहरु धमाधम पार्टी फेर्न थालेका छन्। यसअघि गत आइतबार पर्साकै जगनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बिसमिल्लाह खातुन पनि जसपा परित्याग गरी नेकपा माओवीदी केन्द्रमा प्रवेश गरेकी थिइन्।