

वीरगञ्ज । नेकपा एमाले ठोरीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट ठोरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
एमाले ठोरीको गाउँपालिका अध्यक्षको उम्मेदवारमा लाल बहादुर श्रेष्ठ, गोबिन्द प्रताप श्रेष्ठ र रुपा पौडेललाई सिफारिस गरेको छ । उपाध्यक्षमा गोकुली कुमारी रेग्मी, सानुमाया थिङ र खडग बहादुर श्रेष्ठलाई सिफारिस गरेको छ । शुक्रवार ठोरीको राइधारामा बसेको एमाले ठोरी गाउँपालिका कमिटीको बैठकले अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरु सिफारिस गरेको एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठले बताउनु भयो । नेकपा एमालेको केन्द्रीय सर्कुलर अनुसार हरेक पालिकाबाट ३र३ जना उम्मेदवार छ्नोट गरि जिल्ला कमिटीमा सिफारिस गर्ने प्रावधान रहेको छ ।
सिफारिस भएका उम्मेदवारहरु मध्ये गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा १ जना र उपाध्यक्षमा १ जनाको नाम जिल्ला कमिटीले सिफारिस गरि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले आधिकारिक उम्मेदवार घोषणा गर्ने एमाले ठोरीले जनाएको छ ।
उक्त बैठकले गाउँपालिका कमिटी अध्यक्ष खगेन्द्र श्रेष्ठको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिती, केशव प्रसाद रेग्मीको संयोजकत्वमा ११ सदस्यीय चुनावी घोषणापत्र समिति, अप्सरा स्याङ्तानको संयोजकत्वमा २१ सदस्यीय जन सांस्कृतिक मञ्च ठोरी र २५ सदस्यीय सचिवालय समिति समेत गठन गरेको एमाले ठोरीले जनाएको छ ।
गाउँपालिका कमिटी अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समितिका उप सभापति ठाकुर न्यौपाने रहनु भएको थियो । बैठकलमा एमाले नेताहरू लाल बहादुर श्रेष्ठ, गोकुली रेग्मी, राजेश लामा, गोबिन्द प्रताप श्रेष्ठ , याम बहादुर बस्नेत, केशव बिक, मिना गिरि, पार्वती सुवेदी, उद्धव सापकोटा, खडग श्रेष्ठ, गणेश बहादुर बोहोरा, देवजंग पण्डित, बाल कुमार बस्नेत लगायत रहनु भएको थियो भने ठोरी भरीका नेकपा एमालेका अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन गाउँपालिका कमिटीका सचिव जगेन्द्र पौडेलले गर्नु भएको थियो ।