

पोखरिया । पर्साको पोखरिया नगरपालिका स्तिथ पोखरिया बजारमा नेपाल सुशासन पार्टीको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम आज सम्पन्न भएको छ ।
स्थानीय नेता सहिद मियाँको सभापतित्वमा भएको कार्यक्रममा सयौँ जनाले नेपाल सुशासन पार्टीमा प्रवेश गरेका छन् । कार्यक्रममा रामबाबु साह तेलीको नेतृत्वमा ५ सय १ जना नेपाल सुशासन पार्टीमा प्रवेश गरेका थिए ।सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार बृजमोहत प्रसाद चौधरीको नेतृत्वमा सयौँजना नेपाल सुशासन पार्टीमा प्रवेश गरेका छन् ।
कालिकामाई गाउँपालिकाका दिपु तिवारीको नेतृत्वमा १ सय ६० जना नेपाल सुशासन पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेपाल सुशासन पार्टीका केन्द्रिय अध्यक्ष रमेश खरेल, उपाध्यक्ष राजकुमार यादव, नेपाल सुशासन पार्टी पर्साका जिल्ला अध्यक्ष एवम् बिन्दवासिनी गाउँपालिका अध्यक्षका उम्मेदवार मधुसुदन चौरसिया लगायतले अबिर तथा माला लगाएर स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले नेपाल सुशासन पार्टी प्रतिको जनलहरले नेपाली जनता पारम्परिक पार्टीबाट आजित भएर देशलाई सही नेतृत्व दिन सक्ने शक्तिलाई खोजिरहेको दावी गरे ।