वीरगन्ज २४ असोजः पहिलो र दोस्रो विश्व युद्धमा हराएका गोर्खालीहरुको रहलरपहल रकमबाट बनाइएको पुनर्निर्माण कोषबाट पोखरामा पनि एउटा स्कुल र अस्पताल खोल्ने निधो भयो ।
त्यसको अगुवाइ गरे मेजर वीरसिंह गुरुङले । कोष सञ्चालन गर्न गठित बोर्डको तत्कालीन पश्चिमाञ्चल अफिसरसमेत थिए, वीरसिंह । उनकै अगुवामा पोखरा रामघाटमा २०१३ सालमा स्थापना भयो, सोल्जर्स बोर्ड भोकेसनल जुनियर हाई स्कुल । त्यही नै बेला गुरुङकै नेतृत्वमा सोल्जर बोर्ड अस्पताल पनि खुलेको थियो । त्यही अस्पताल अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ ।