कुनै पनि स्वाधीन राष्ट्रका लागि त्यसको राष्ट्रिय झण्डा केवल एउटा कपडाको टुक्रा मात्र होइन, यो त देशको अस्मिता, स्वाभिमान र गौरवको सर्वोच्च प्रतीक हो। तर पछिल्लो समय नेपालमा राष्ट्रिय झण्डाको प्रयोगका नाममा जुन किसिमका उछृङ्खल गतिविधिहरू भइरहेका छन्, त्यसले गम्भीर चिन्ता पैदा गरेको छ। सामाजिक अभियन्ता तथा कानुनविद्हरूले समेत यस विषयमा आवाज उठाउनुले स्थिति कति भयावह छ भन्ने प्रस्ट पार्छ।
आजभोलि सडकमा हुने साना-ठूला आन्दोलनदेखि लिएर राजनीतिक दलका शक्ति प्रदर्शनसम्ममा राष्ट्रिय झण्डाको ओढ्ने-ओछ्याउने वस्तुका रूपमा प्रयोग बढ्दो छ। आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने वा अराजकता फैलाउने कार्यमा संलग्न व्यक्तिहरूले राष्ट्रिय झण्डा ओढेर आफूलाई 'राष्ट्रवादी' देखिन खोज्नु विडम्बनापूर्ण छ। झण्डा ओढेर देशको अहित चिताउनु वा कानुनी मर्यादा उल्लंघन गर्नुले झण्डाको मान होइन, बरु घोर अपमान गरिरहेको हुन्छ।
नेपालको कानुन र अन्तर्राष्ट्रिय प्रचलनले पनि राष्ट्रिय झण्डाको प्रयोगका निश्चित मर्यादाहरू तोकेका छन्। झण्डालाई शरीरमा ओढ्ने कपडाका रूपमा प्रयोग गर्नु, यसलाई कम्मरमुनि आउने गरी लगाउनु वा चुनावमा मत माग्ने हतियार बनाउनु पूर्णतः बर्जित कार्य हुन्। झण्डाको प्रयोग कसरी गर्ने भन्नेबारे 'राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि' प्रस्ट भए पनि व्यवहारमा त्यसको पालना भएको देखिँदैन।
झण्डाको गरिमा घट्ने गरी भइरहेका यस्ता क्रियाकलापमा सम्बन्धित सरकारी निकाय र प्रशासनको मौनता झनै घातक छ। जब सडकमा राष्ट्रिय प्रतीकको मानमर्दन हुन्छ, तब राज्यले कडा कदम चाल्नुपर्छ। झण्डा ओढेर गरिने उच्छृङ्खल गतिविधिले समाजमा गलत सन्देश प्रवाह गरिरहेको छ।
राष्ट्रिय झण्डा राष्ट्रको साझा सम्पत्ति र सम्मानको केन्द्र हो। यसलाई व्यक्तिगत स्वार्थ, राजनीतिक स्टन्ट वा अराजक भीडको आवरण बनाइनु हुँदैन। झण्डाको सम्मान गर्नु प्रत्येक नागरिकको कर्तव्य हो भने यसको दुरुपयोग रोक्नु राज्यको दायित्व हो। झण्डा ओढ्ने 'कपडा' होइन, यो त शीरमा राख्ने 'शान' हो। अतः सम्बद्ध निकायले यसको दुरुपयोग रोक्न तत्काल कडा कानुनी प्रावधान कार्यान्वयन गरोस् र नागरिक स्तरमा पनि झण्डाको सही प्रयोगबारे चेतना फैलियोस्।