समाज सभ्य र विकसित बन्ने आधार मानवीय मूल्य, समानता र न्यायमा आधारित हुन्छ। तर विडम्बना, आधुनिकता र विकासको कुरा गरिरहँदा हाम्रो समाजमा महिला हिंसा अझै गम्भीर सामाजिक समस्याका रूपमा विद्यमान छ। दिनप्रतिदिन महिला हिंसाका घटनाहरू सार्वजनिक भइरहँदा यसले समाजको नैतिकता, सामाजिक संरचना र कानुनी प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ।
महिला हिंसा केवल शारीरिक आक्रमण मात्र होइन, मानसिक, आर्थिक, सामाजिक तथा यौनजन्य दुव्र्यवहारको रूपमै प्रकट हुने जघन्य अपराध हो। घरभित्र हुने घरेलु हिंसा, दाइजोको निहुँमा हुने अत्याचार, बालविवाह, बलात्कार, कार्यस्थलमा हुने यौन उत्पीडन लगायतका घटनाले महिलाको सम्मान र स्वतन्त्रतामाथि निरन्तर प्रहार गरिरहेका छन्। यस्ता घटनाले पीडित महिलाको मात्र नभई सम्पूर्ण समाजको विकास यात्रालाई अवरुद्ध बनाइरहेको छ।
नेपालको संविधानले महिला तथा पुरुषबीच समान अधिकारको सुनिश्चितता गरेको छ। महिला हिंसा नियन्त्रणका लागि विभिन्न कानुनी व्यवस्था र नीति कार्यक्रमहरू पनि निर्माण गरिएका छन्। तर व्यवहारमा यी कानुनहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्नु ठूलो चुनौती बनेको छ। कतिपय अवस्थामा सामाजिक डर, पारिवारिक दबाब तथा न्यायिक प्रक्रियाप्रतिको अविश्वासका कारण महिलाहरू हिंसा सहन बाध्य छन्। यसले महिला हिंसाको समस्या अझ जटिल बन्दै गएको छ।
महिला हिंसा न्यूनीकरणका लागि कानुनी व्यवस्थामात्र पर्याप्त हुँदैन। समाजमा चेतनाको स्तर अभिवृद्धि गर्नु अत्यन्त आवश्यक छ। महिलालाई कमजोर वा परनिर्भर ठान्ने सोच परिवर्तन गर्न सकिए मात्र वास्तविक समानता स्थापित हुन सक्छ। परिवार, विद्यालय, समुदाय र सञ्चार माध्यमहरूले महिला सम्मान र समानताको सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न जरुरी छ।
यसका साथै, पीडित महिलालाई न्याय दिलाउने प्रक्रिया सहज, छिटो र विश्वासयोग्य बनाउन आवश्यक छ। दोषीलाई कडा कारबाही र पीडितलाई आवश्यक सुरक्षा तथा सहयोग उपलब्ध गराउन सके मात्र महिला हिंसा नियन्त्रणतर्फ सकारात्मक परिणाम देखिन सक्छ। स्थानीय तहदेखि संघीय सरकारसम्मका निकायहरू महिला सुरक्षा सुनिश्चित गर्न थप जिम्मेवार बन्नु अपरिहार्य छ।
अन्ततः, महिला हिंसा कुनै एक व्यक्ति वा परिवारको समस्या मात्र होइन, यो सम्पूर्ण समाजको गम्भीर चुनौती हो। महिला सुरक्षित र सम्मानित भए मात्र समाज समृद्ध र सशक्त बन्न सक्छ। त्यसैले महिला हिंसाविरुद्ध सम्पूर्ण समाज एकजुट भएर चेतना फैलाउनु, पीडितलाई सहयोग गर्नु तथा अपराधीलाई कानुनी दायरामा ल्याउनु आजको प्रमुख आवश्यकता हो। महिला हिंसामुक्त समाज निर्माण गर्नु नै समुन्नत राष्ट्र निर्माणको आधार हो।