सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद डा. अमरेश कुमार सिंहले आफ्नै गृहजिल्ला सर्लाहीमा विरोधको सामना गर्नुपरेको छ। ‘मेची–महाकाली अभियान’ अन्तर्गत मलंगवा पुगेका सिंहलाई हिन्दू सम्राट सेनाका कार्यकर्ताहरूले टावर चोकमा कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शनमा सहभागी चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
हिन्दू धर्म तथा हिन्दू राष्ट्रको मुद्दामा डा. सिंहले सार्वजनिक रूपमा राख्दै आएको धारणा र अडानप्रति असन्तुष्टि जनाउँदै हिन्दू सम्राट सेना नेपाल तथा अन्य हिन्दू संगठनसँग आबद्ध कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले हिन्दू राष्ट्रको पक्षमा नाराबाजी गर्दै सांसद सिंहको राजनीतिक तथा वैचारिक अडानप्रति असहमति व्यक्त गरेका थिए।
सांसद सिंह मलंगवा पुगेपछि टावर चोकमा विरोध प्रदर्शन चर्किएको थियो। प्रदर्शनका क्रममा ठूलो संख्यामा मानिसहरू भेला भएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरेको स्थानीय स्रोतले जनाएको छ।
प्रहरी नियन्त्रणमा लिइएका व्यक्तिहरूमा अरविन्द महतो, अविनाश झा, रुपेश यादव र कृष्णा यादव रहेका छन्। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको बताइएको छ।
हिन्दू राष्ट्रको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरूलाई पक्राउ गरिएपछि नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकारमाथि प्रहरीले कस्तो व्यवहार गरेको हो भन्ने प्रश्न उठेको छ। लोकतान्त्रिक व्यवस्थामा राजनीतिक तथा वैचारिक असहमति व्यक्त गर्न पाउनु नागरिकको मौलिक अधिकार हो। शान्तिपूर्ण रूपमा कालो झण्डा देखाएर विरोध जनाउने कार्यलाई कानून उल्लङ्घन ठहर गरिएको हो भने पक्राउको कानुनी आधारबारे प्रहरीले स्पष्ट पार्नुपर्ने देखिन्छ।
हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउनेहरूलाई पक्राउ गरेर असहमति दबाउने प्रयास गरिएको हो वा पक्राउ परेकाहरूले कानुन उल्लङ्घन गरेका हुन् भन्ने विषयमा प्रहरीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ।