पर्सा । पर्साको पटेर्वा सुगौलीस्थित आधारभूत अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १८७ जना बिरामी लाभान्वित भएका छन्। शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरेका थिए।
थारु फर्मा मार्केटिङ वीरगन्जको आयोजनामा तथा युवा नेता एवं समाजसेवी मुकेश गौरोको सह–आयोजनामा सम्पन्न शिविरमा फिजिसियन तथा ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. अनुपम उपाध्याय, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सतीश कुमार राय, हाडजोर्नी विशेषज्ञ डा. राजु गुप्ता र युरोलोजिस्ट डा. कासिम अन्सारीले स्वास्थ्य सेवा प्रदान गरेका थिए।
शिविरमा बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षणसँगै औषधि वितरण, मधुमेह (सुगर) परीक्षण तथा दमसम्बन्धी निःशुल्क परीक्षणसमेत गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम सञ्चालनका लागि पटेर्वा सुगौली गाउँपालिकाले आधारभूत अस्पतालको भवन उपलब्ध गराउनुका साथै शिविरमा सेवा प्रदान गर्न आएका चिकित्सक, स्वास्थ्यकर्मी तथा मार्केटिङ टोलीका लागि खाना र नास्ताको व्यवस्था गरेर सहयोग गरेको थियो।
शिविरमा सहभागी चिकित्सकहरूलाई खादा तथा टीका लगाएर स्वागत गरिएको थियो। कार्यक्रम व्यवस्थापनमा नेपाल तरुण दलका स्थानीय साथीहरू समेत सक्रिय रूपमा खटिएका थिए।
स्वास्थ्य शिविर सम्पन्न भएपछि कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगीहरूलाई प्रमाणपत्र वितरण गरी सम्मान गरिएको थियो।
निःशुल्क स्वास्थ्य शिविरमार्फत ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।