सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीको मलंगवामा कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गर्ने क्रममा हिन्दू सम्राट सेनाका चार जना युवा पक्राउ परेका छन्।
पूर्व–पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा सर्लाही पुगेका सांसद सिंहलाई मलंगवामा हिन्दू सम्राट सेनाका कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध जनाएका हुन्। कालो झण्डा प्रदर्शनका क्रममा प्रहरीले संगठनका चार जना युवालाई पक्राउ गरेको जनाइएको छ।
चार जना युवा पक्राउ परेपछि हिन्दू सम्राट सेनाले मलंगवाको जेसीबी चोकमा विरोध प्रदर्शन गर्दै उनीहरूको तत्काल रिहाइको माग गरेको छ। प्रदर्शनका क्रममा सांसद डा. सिंहको पुत्ला दहनसमेत गरिएको छ।
प्रदर्शनकारीहरूले ‘हिन्दूविरोधी नेता मुर्दावाद!’, ‘हिन्दू राष्ट्र कायम गर!’ लगायतका नाराबाजी गर्दै सांसद सिंहका अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन्। साथै, पक्राउ परेका चारै जना युवालाई अविलम्ब रिहा गर्न माग गरेका छन्।
हिन्दू सम्राट सेनाका कार्यकर्ताहरूले हिन्दू धर्म तथा हिन्दू राष्ट्रसम्बन्धी विषयमा सांसद सिंहले व्यक्त गरेका विचारप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका हुन्।
चार जना युवाको पक्राउपछि मलंगवामा विरोध प्रदर्शन चर्किएको छ भने पक्राउ परेकाहरूको तत्काल रिहाइको माग संगठनले उठाएको छ।