वीरगन्ज २४ फागुन : नेकपा एमाले पर्साको पार्टी कार्यालयमा आज वृहत सरसफाई एवं स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । वीरगंज २४ मनमोहन नगरमा रहेको पार्टी कार्यालयमा संविधान सभा सदस्य राजकुमार गुप्ताको नेतृत्वमा कार्यालय सरसफाइ एवं स्वागत कार्यक्रम गरिएको हो । सरसफाई पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुप्ताले पुरानो घर फर्किएकोमा खुशी व्यक्त गर्नुभयो । प्रमुख अतिथी समेत रहेका गुप्ताले अब पुनः नेकपा एमालेलाई व्यवस्थित तरिकाले अघि बढाइने बताउनुभयो । एकताको नाममा तिन बर्षदेखि प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारिएको जिकिर गर्दै हिजोको सर्वोच्चको निर्णयले एमाले पुनः व्युतिएकोमा खुशी व्यक्त गर्नुभयो । नेता गुप्ताले कतिपय माओवादीका साथीहरु पनि एमालेमा आएकोले उहाँहरुको सम्मानजन व्यवस्थापन गरिने बताउनुभयो ।


त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज गुप्ताले माओवादीमा जंङ्गली प्रवृति अन्त्यमा नभएको आरोप लगाउनुभयो । अध्यक्ष गुप्ताले दुई तिहाईको हाराहारीमा रहेको आफनै सरकार बिरुद्ध षड्यन्त्र गर्नेहरुको बिचार संग जान नसकिने बताउनुभयो । उहाँले पार्टीले कारवाही गरेपनि एमालेको लागि अध्यक्ष पद त्याग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, पर्सा अध्यक्ष श्याम बन्जारा, कार्यालय सचिज गंगा खड्का ,सुन्दर कुर्मी लगायतकाले धारणा राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सदस्य संजिव मिश्र,नेताहरु हनिफ अंसारी, यशवन्त यादव,संजय चौहान,राजन साह, संदिप महतो, राम पटेल लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा युवा नेता भक्ति अग्रवाल र जयकान्त कुशवाहा नेकपा एमालेमा प्रवेश समेत गरेका थिए । नेकपा नेता गोकर्ण पाठकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य पत्रकार महेश दासले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण ओविसी पर्सा अध्यक्ष एवं युवा नेता अकलेश साहले गर्नुभएको थियो ।